You must enable JavaScript to view this site.
This site uses cookies. By continuing to browse the site you are agreeing to our use of cookies. Review our legal notice and privacy policy for more details.
Close
Homepage > Regions / Countries > Asia > South Asia > Nepal > Nepal's Maoists: Their Aims, Structure and Strategy

नेपालका माओवादी : तिनका लक्ष्य, संरचना र रणनीति

Asia Report N°104 27 Oct 2005

सारसङ्क्षेप

माओवादी विद्रोहले दस वर्षभन्दा कम समयमा नेपालको रूपान्तरण गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले देशभरि सशस्त्र द्वन्द्व फैलाएर नेपालको राजनीतिक वातावरणलाई उल्टाउनै नसकिने गरी नयाँ साँचोमा ढालेको छ। तर उनीहरूका राजनीतिक उद्देश्यहरूमाथि भने अझै प्रश्नचिह्न खडा भएकै छ र उनीहरूका संरचना र रणनीतिबारे पर्याप्त जानकारी पाइएको छैन। माओवादीका लिखतहरू र उनीहरूका कार्यहरूको साथै अन्तर्वार्ताहरूको व्यापक शृङ्खलामा आधारित माओवादीको पृष्ठभूमिको खोजतलास गर्ने यो प्रतिवेदनले यीमध्ये धेरै कुराको जानकारी उपलब्ध गराउन खोजेको छ। यो खोजीको उद्देश्य नेपालका र अन्तर्राष्ट्रिय समुदायका नीति-निर्माताहरूलाई शान्ति प्रक्रियालाई यथार्थपरक ढङ्गले अघि बढाउनका लागि सूचना र अन्तर्दृष्टि उपलब्ध गराउनु हो। 

माओवादीहरू सार रूपमा एउटा राजनीतिक दल हुन्। उनीहरूले सैनिक क्षमताको विकास गरेका छन् तर त्यो राजनीतिक नियन्त्रणको अधीनमा रहेको छ। उनीहरू आतङ्कजन्य कार्यनीति र करकापको प्रयोग गर्छन् तर पनि उनीहरू आतङ्ककारी मात्र भने होइनन्। उनीहरूले उपमहाद्वीपका अन्य कम्युनिस्ट क्रान्तिकारी समूहहरूसँग सम्बन्ध कायम राखेका छन् तर उनीहरू न त खमेर रुजका नेपाली औतार हुन् न त उनीहरूको अभियान कुनै पनि भूमण्डलीय आतङ्कवादको अङ्ग नै हो। 

माओवादी रणनीति राजनीतिक र सैनिक दुवै दृष्टिले दीर्घकालीन जनयुद्ध हो। यी दुई कुरालाई अलग्याउन सकिँदैन। उनीहरूमा दीर्घकालीन स्वप्नदृष्टि र धैर्य दुवै छ। राजनीतिक दृष्टिले उनीहरू अत्यन्तै चतुर हुन सक्छन् (जसको उदाहरण सेप्टेम्बर २००५ को एकतर्फी युद्धविरामको घोषणा हो) तर आफ्ना दीर्घकालीन लक्ष्यहरूका हकमा भने उनीहरूले गलत आकलन गर्न पनि सक्छन् (जसको उदाहरण २००५ को सुरुमा नेतृत्वमा रहेका मतभिन्नताहरूको गलत परिचालन हो)। 

माओवादीहरू अन्तरकलहको कारणबाट धराशयी हुने सम्भावना छैन। निःसन्देह सर्वोच्च नेतृत्वभित्र खिचातानी छ र कमान्ड तथा नियन्त्रणसम्बन्धी चुनौतीहरू छन् तर यी कुराहरू माओवादीका आत्मघाती कमजोरी भने होइनन्। वैधतारहित सरकारहरूले अख्तियार गरेका सुरक्षाप्रधान कार्यसूचीले माओवादीको स्थितिलाई झनै सुदृढ बनाउने काम गरेको छ। 

माओवादी विद्रोहीहरू व्यवहारमुखी र कार्यनीतिक दृष्टिले लचिला छन्। आफूले ठाडो सैनिक विजय प्राप्त गर्न नसक्ने कुरामा उनीहरू सजग छन्, त्यसैले उनीहरूले तत्कालै समाजवादमा सङ्क्रमण गर्न असम्भव छ भन्ने कुरा महसुस गरेका छन्। उनीहरू सम्झौता गर्न एक हदसम्म तत्पर छन्, त्यसैले उनीहरू घरेलु र अन्तर्राष्ट्रिय राजनीतिक शक्तिहरूसँग संवाद गर्न ज्यादै इच्छुक छन्। 

माओवादीहरूले १९९६ मा सशस्त्र अभियान थालेदेखि नै राजनीतिक उद्देश्यहरूको प्राप्तिका लागि शक्ति प्रयोग गर्दै आएका छन्। उनीहरूले आतङ्क र करकाप लगायत यातना, हत्या र हिंसाका अन्य स्वरूपहरू पनि प्रयोग गर्दै आएका छन्। तर उनीहरू अन्य अनेकौँ विद्रोही समूहहरूभन्दा बढी नै संयमित पनि छन्। त्यसैले उनीहरूका हातबाट सीमित मात्रामा नागरिक हताहती भएको छ र उनीहरू सामान्यतः विभेदरहित आक्रमणहरूबाट जोगिएका छन्। उनीहरूले अर्थतन्त्रलाई कमजोर बनाएका भए तापनि यसलाई कामकाजी अवस्थामा रहन दिएका छन् र उनीहरूले कहिल्यै पनि विदेशी नागरिकहरूलाई आक्रमणको निशाना बनाएका छैनन्। 

माओवादीहरू घरेलु र अन्तर्राष्ट्रिय जनमतप्रति संवेदनशील छन्। तर, जनयुद्धको दर्शन अँगालेका भए तापनि उनीहरूले जनसमर्थनको भरोसा भने गरेका छैनन्। कुनै पनि शान्ति प्रक्रियामा उनीहरूको संलग्नताको गम्भीरता जोखिम र अवसरहरूसम्बन्धी उनीहरूको धारणाहरूमा निर्भर गर्नेछ। यी धारणाहरूलाई निश्चित आकार दिने कार्यमा अन्तर्राष्ट्रिय समुदायले महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ। 

वरिष्ठ माओवादी नेताहरू सामाजिक र आर्थिक रूपान्तरणलाई साकार रूप दिने सदिच्छाबाट प्रेरित भएका हुन सक्छन्। घरेलु रूपान्तरणलाई अघि बढाउने कार्य विश्वक्रान्तिसम्बन्धी उनीहरूको घोषित प्रतिबद्धताभन्दा प्राथमिक कार्य हो। विश्वक्रान्तिप्रति भन्दा नेपालभरिका विकास प्रयासहरूमाथि नियन्त्रण कायम गरी स्थानीय जनताको दैनिक जीवनमाथिको पकडलाई दरिलो पार्नमा उनीहरूको ठूलो चाख छ। 

नेपालका मूलधारका राजनीतिज्ञहरूले माओवादीहरूलाई यथार्थपरक ढङ्गले सह्माल्नुपर्छ भन्ने कुरा बुझेको निकै समय भयो। उनीहरू विद्रोहीहरूका धेरैजसो नृशंस आक्रमणहरूको तारो बन्ने स्थानमा रहेका हुनाले माओवादीहरूले राजनीतिक मतभिन्नतालाई आदर गर्छन् भन्ने कुरामा उनीहरूमा कुनै भ्रम छैन। तर साथसाथै आफ्ना कतिपय व्यापक समर्थनप्राप्त मागहरूलाई सम्बोधन गर्ने साझा कार्यक्रमप्रति सहमति प्राप्त गर्ने हेतुले माओवादीहरूलाई राजनीतिक रूपले आफूसित सहकार्य गर्न हौस्याउनका लागि “पापा” र “छडी” दुवै प्रयोग गर्न सकिने सम्भावना पनि उहीहरूले देखेका छन्। 

द्वन्द्व अधिकतम प्रक्रियामा माओवादीहरूले व्यवहारवादी तरिकाले कार्य गरेका छन्। उनीहरूले भावी पुनःस्थापना र मेलमिलापका लागि ढोका खुला राख्नुपर्ने कुराको हेक्का राखेर यस प्रयोजनका लागि मूलधारका शक्तिहरूसँग केही न केही संवाद पनि कायम राखेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय विकास प्रयासहरूप्रति पनि संयमित नीति अपनाएर शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय सहजीकरणका लागि निकै पहिलेदेखि नै आह्वान गरेका छन्। 

भर्खरै स्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार नियोगप्रति माओवादीद्वारा गरिने व्यवहारबाट उसका प्रवृत्तिहरू र क्षमताहरूको महत्त्वपूर्ण परीक्षण हुनेछ। उक्त व्यवहारद्वारा माओवादीले आफू शान्तिका लागि तयार रहेको र सम्झौताबाट प्राप्त हुने समाधानको उपायलाई कार्यान्वयन गर्न सक्षम रहेको कुरा प्रमाणित गर्न सकेको खण्डमा राजनीतिक मूलधार उनीहरूलाई सह्माल्न तयार हुनेछ। सेप्टेम्बर २००५ मा एकतर्फी तीनमहिने युद्धविरामको घोषणा गरिएपछि व्यापक जनताले राहतको सास फेरेको तथ्यका आधारमा मूल्याङ्कन गर्दा नेपालका जनता आफूलाई शान्ति प्रदान गर्ने न्यायोचित सम्झौतालाई समर्थन गर्न तयार रहेको देखिन्छ।

काठमाडौँ/ब्रसेल्स, २७ अक्टोबर २००५

 

More Information